धरान, फागुन १ । विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु सहित ३० औँ जनयुद्ध दिवस मनाइदैछ ।
भूमिगत सशस्त्र सङ्घर्षद्धारा जनताको राजनैतिक अधिकार स्थापनामा महत्वपुर्ण योगदान गरेको नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)ले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
यसअवसरमा आज विहान पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रम आयोजना गरियो । कार्यक्रमलाई पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवोधन गर्नुभएको थियो । संवोधनका क्रममा अध्यक्ष प्रचण्डले महान जनयुद्धको प्रेरणा सयौँ वर्षसम्म रहने बताउनुभयो । जनयुद्ध नेपालको राजनैतिक इतिहासमा युगान्तकारी घटना भएको बताउनुहुँदै उहाँले मुलुक परिवर्तनको यात्रा जनयुद्धकै कारण शुरु भएको बताउनुभयो ।
कार्यक्रम अघि अध्यक्ष प्रचण्डले कार्यलय परिसरमा रहेको जनयुद्ध स्तम्भमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, प्रवक्ता अग्निप्रसाद सापकोटा लगायत उपस्थित हुनुहुन्थ्यो ।
जनयुद्ध दिवसकै अवसरमा विराटनगरमा राजनैतिक परिवर्तनमा जनयुद्ध विषयक अन्तरक्रिया आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र १ नं. प्रदेशसँगको समन्वयमा प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिको आयोजनामा जारी कार्यक्रममा पार्टीका १ नं. प्रदेश इन्चार्ज हरिबोल गजुरेल शितलकुमार प्रमुख अतिथि रहनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश अध्यक्ष राजन समीप राईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरुको पनि सहभागीता रहेको छ ।
यसैक्रममा धरानमा रक्तदान आयोजना गरी जनयुद्ध दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्र धरान नगर समितिको आयोजनामा भानुचौकको लोकतान्त्रिक चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा १२६ पिन्ट रगत सङ्कलन भएको पार्टीका धरान नगर अध्यक्ष उद्धव लिम्बुले बताउनुभयो । पार्टी प्रदेश सहइन्चार्ज अजम्बर काङमाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथी काङमाङ लगायतले संवोधन गर्नुभएको थियो ।
जनयुद्ध दिवसकै अवसरमा आज बेलुकी धरानको भानुचौकमा दिप प्रज्वलन गरिने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
.......




















