कवि अभागी थेगुबा साहित्यिक आकाशमा उदाएको एउटा नक्षत्रको नाम हो । आफ्नो काव्ययात्राको प्रथम चरणमै उनी टाढा–टाढासम्म फैलिएका भावनाका क्षितिजसम्म पुग्ने र विचारका गहिरा–गहिरा महासागरहरुमा गोता लगाउन उधमशील देखिन्छन् । नेपाली साहित्यकाशमा ‘थेगुबा’का चारवटा कृतिहरु प्रकाशित भइसकेका छन्– १) सप्तकोशीको किनारमा (संयुक्त गजल संग्रह) २) बुद्धले अस्त्र...(कविता संग्रह), ३) म, हर्के अनि युद्ध (गजल काव्य) र ४) सपनाको बही (कविता संग्रह) । उनले कवितामा विम्ब, अलङ्कार, प्रतीकको प्रयोग र शैली सुगठनतातिर पनि ध्यान पु¥याएको पाइन्छ । उनका प्रायः सबै कविताहरु यो युगप्रति पूर्ण सचेत र सजग देखापरेका छन् । आज जे भइरहेछ, त्यसबाट कवि थेगुबा मानेर बस्ने सल्लाह दिँदैनन् किनकि हिजोको फोहोर मैलाको डंगुर जहीको त्यही नै छ । त्यसलाई पन्छाउन उनी एउटा महायज्ञ गर्न मनपराउँछन्, आँधी मन पराउँछन्, विद्रोह गर्न मन पराउँछन् । यी सबै एउटा बाध्यता हो कि ?
मैले समाजलाई केही दिइसकेको जस्तो लागेको छैन ।
कविता कोर्न जति सजिलो छ त्यति गा¥हो पनि । शायद यही भएर होला कोरेको जति सबैकुरा कविता हुँदैनन् र कविता कोर्ने जति सबै कवि हुँदैनन् । कविता कोर्नका निम्ति लामो साधना चाहिन्छ । ठूलो मेहनत चाहिन्छ । अर्कोतिर कविता कोर्ने मान्छेले कि आफूले आफ्नो समयको ट्रयाक (धारा) लाई राम्रोसित समातेको हुनुपर्दछ कि ऊ आफै नयाँधारा चलाउन सक्ने हैसियतमा विकसित भएको हुनुपर्दछ । यी दुई कुराको अभावमा लेखिएको कविता कसैले कविता भने पनि कविता हुँदैनन् र कसैले धर्मधुस लाएर यस्ता कविता कोरेपनि ऊ कवि हुँदैन । फेरि कतिबेला कोही के कारणले कवि हुँदैन भने उसँग कविता लेख्ने फुर्सद नै हुँदैन वा कसैले कवितालाई आफ्नो क्षेत्र नै बनाउँदैन । शायद यही भएर होला कुनैबेला कविता कोरेपनि माक्र्स अथवा लेनिन कवि हुन सकेनन् । तर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानलाई चरितार्थ पार्दै कविता आफ्नो क्षेत्र नहुँदा–नहुँदै पनि माओ कवि नभई रहन सकेनन् । यो कुरा बेग्लै हो कि माओको राजनैतिक वा दार्शनिक व्यक्तित्वलाई उनको कवित्वपन व्यक्तित्वलाई ओझेल पारिदियो । अर्कोतिर हामीसित पाब्लो नेरोदाको जस्तो यस्तो व्यक्तित्व पनि छ कि जसको राजनैतिक व्यक्तित्वलाई कवि व्यक्तित्वले ओझेल पारिदिएको छ ।
जसले आरोप लगाउँछ, उसले लेखे भई हाल्यो नि ।
जे होस्, अभागी थेगुबाको चौथो कृति ‘सपनाहरुको बही’ कविता संग्रह भर्खरै यस वार्ताकारको हात लागेको छ । उहाँ नेपाली कवितालेखनको परिप्रेक्ष्यमा पचासको दशकदेखि आफ्नो जीवनकाल बिताएका रहेछन् । उनका धेरै प्रकाशित कविताहरु, समीक्षाहरु र कोरोना कविताहरु पढन सक्छौं । तर मैले उनको रचनाहरु कहिलेकाही पत्रपत्रिकामा प्रकाशित भएको देखेको छु । हामी आशा गरौं, उनी यस बाटोमा सँधै क्रियाशील रहनेछन् । कविहरुले जे कुरालाई पनि कविताको विषय बनाएका हुन सक्छन् । तर एउटा जनताको कविले देश र जनता कै व्यथा कथा अथवा संघर्षलाई कविताको विषय बनाउन सके, त्यसले समाजमा निकै धेरै सकारात्मक भूमिका खेल्न सक्दछ । भूपिले धेरै कविता कोरे तर पनि हामीले पटक–पटक दोहो¥याउने पंक्ति ‘बन्दैन देश दुई चार सपूत मरेर नगए’ नै हुन गएको छ । कविले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने हुनाले ऊ स्वयं जनसंघर्षको अग्रपंक्तिमा उभिएको हुनुपर्दछ । बन्दुक बोकेर उभिन नसकेपनि कलम बोकेर उभिन सक्नुपर्दछ । थेगुबाले यो संसारमा निकै ठूलो आँधी हुरी ल्याउने कविता कोर्नेछन् । म उनको उत्तरोत्तर उन्नतिको कामना गर्दछु । प्रस्तुत छ उहाँसँग मैले गरेको अनलाइन वार्ता ।
– युवराज घलेभाइ
व्यवहारिक जीवन र साहित्यमा के अन्तर पाउनु भयो ?
व्यवहारिक जीवन र साहित्यमा अन्तर खोज्ने क्रममा छु ।
तपाईंको प्रारम्भिक लेखनको अवस्था कस्तो थियो, स्मरण गर्नुहोस् न ?
प्रारम्भिक अवस्थाको लेखन सम्झदा रहर थियोे ।
तपाई त अब प्यूर लेखक भइसक्नु भएको छ, समाजले सोध्ने माग्ने आशा गर्ने कवि, लेखक एवम् गीतकार । तपाई आफूलाई चाहिँ आफूले लेखिरहेको सिर्जना मार्फत समाजका निम्ति कतिको उपयोगी चीज दिइरहेछु जस्तो लाग्छ ?
म प्युर लेखक भइसकेको छैन । र मैले समाजलाई केही दिइसकेको जस्तो लागेको छैन ।
किन लेख्नु हुन्छ साहित्य ?
हिजो रहरले लेख्थेँ भने आज लेख्नै पर्छ भन्ने करले लेख्दै छु ।
नेपाली साहित्यमा नलेखिएको विषय कुनै बाँकी छ कि ?
पूर्ण भन्ने केही नहुने भएकोले नलेखिएका सबै विषय बाँकी नै छन् ।
केही पुरस्कार पनि पाउनु भएको छ । कस्तो महसुस हुन्छ पुरस्कार थापिरहँदा ?
केही पक्कै पाएको छु । काँधमा अझ जिम्मेवारी थपिएको महशुस गरेकोे छु ।
समग्र पुरस्कारहरु प्रति तपाईंको धारणा ?
स्रष्टाहरुलाई पुरस्कार दिइनु पर्छ, तर पाउनुपर्नेले पाएमा राम्रो हुन्छ ।
कतिपय लेखकहरु पुरस्कारले जिम्मेवार बन्न मद्दत गर्छ भन्छन् नि ?
मलाई पनि त्यस्तै लाग्छ ।
आफूलाई मन परेको तर चर्चा नपाएको तपाईंको रचना कुनै छ ?
सबै रचना समान लाग्छ र चर्चा पाउनु नपाउनु आफ्नै ठाउँमा होला ।
तपाईलाई कस्तो साहित्यले छुन्छ ?
मलाई सबै साहित्यले छुन्छ ।
वर्तमान समयमा केही लेखकहरु पुरानो पुस्ताले खासै राम्रो लेख्न नसकेको आरोप लगाउँछन नि ?
त्यसो नहोला । जसले आरोप लगाउँछ, उसले लेखे भई हाल्यो नि ।
उत्तरआधुनिक भनेको के हो ? तपाईको विचारमा भारतमा यसको प्रयोग के कसरी भइरहेको छ ? किन साहित्यकारहरु यो वाद या विचारमा कित्ताकाट गरेर आफू–आफूमा बाँडिएका होलान् ?
यो कुनै पनि वाद र विचारमा बोल्न आउँदैन । ५० को दशकमा हामीले पनि प्रगतिवादी विज्ञान साहित्य लेखिनुपर्छ भन्ने नारा राखेर साहित्यिक एकता आन्दोलन चलाएका थियौं । मेरो विचारमा स्रष्टाहरु कित्ताकाटमा पर्नु हुदैन ।
यतिको उमेरको भइसक्नु भयो, अबको समयको जीवनमा यहाँको के धोको रहेको छ ? सविस्तारपूर्वक बताईदिनु हुन्थ्यो कि ?
मानिसको धोको अनन्त हुन्छ । धोको पुग्नु भनेको अन्त्य हुनु हो । मेरो लागि अर्काे एउटा कविता लेख्ने धोको छ ।
स्वमूल्याङ्नका आधारमा तपाई सफल कि असल मानिस हो ?
म ओेैसत मान्छे ।
अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताई दिनुहोस् न ?
हाम्रो शैलीमा भन्नू पर्दा आकास जमिनको फरक छ ।
यहाँनेर आइपुग्न के कति मेहनत गर्नुभयो त यहाँले ?
जिन्दगीका पचास वसन्तहरु काटियो । सायद मिहिनेत पक्कै गरिएछ ।
जीवनलाई बुझ्दैहुनुहुन्छ वा बुझिसक्नु भयो ?
जीवन वुझेर कहिले सकिदैन ।
के रहेछ त वास्तवमा जिन्दगी भनेको ?
जिन्दगी बुझ्ने क्रममै छु ।
यहाँका प्रकाशित कृतिहरु कति छन् ? तपाई अझै कुन–कुन विधाका कति कृतिहरु लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
अहिले सम्मका मेरा कृतिहरु :–
क) सप्तकोसीको किनारबाट (संयुक्त गजल संग्रह–२०५४)
ख) बुद्धले अस्त्र ... (कविता संग्रह–२०५७)
ग) हर्के, म अनि युद्ध (गजलकाव्य–२०६७)
घ) सपनाको बही (कविता संग्रह–२०८१)
अहिले नै कुनै कृति प्रकाशन गर्ने योजना बनाई गएको छैन ।
तपाईलाई आफ्ना मौलिक कृतिहरु निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?
कृति निकाल्दा आफ्नै लागि भए पनि अलिकति काम गरिएछ भनेर ढुक्क लाग्छ ।
जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? हुनुहुन्छ भने कारणहरु बताई दिनुहोस् न ।
कारण त थाहा छैन, तर जिन्दगीदेखि पूर्ण त नभनौ सन्तुष्ट नै छु ।
.................




















