धरान, फागुन ३ । बिराटनगरस्थित रानी अस्पताल प्राली.को आयोजना र धरान, सयपत्री मार्गस्थित च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कूलको व्यवस्थापनमा शनिबार एक दिवसिय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविरमा स्कुलका विद्यार्थी, अभिभावक र स्थानिय टोलबासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । शिविरमा ८ बर्षिय शिशुदेखि ८४ बर्षसम्म का ज्येष्ठ नागरिकहरुले आँखा र कानको जाँच गरेका थिए । करिब ३ सयको आँखा र कानको जाँच गरिएकोमा १४ जनामा मोतिबिन्दु, दुईजनामा पिजीटी (आँखामा मासु पलाउने) रोग देखिएको डा.शिवानी कर्णले जानकारी दिनुभयो ।

मोतिबिन्दु र पिजिटीको शल्यक्रिया गर्ने बिरामीलाई रानी अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गरिने अस्पतालले जनाएको छ । शिविरमा प्रमुख अतिथीको रूपमा उपस्थित धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेश इवारमले विद्यालयको कामको प्रशंसा गर्दै यस्ता समाजिक कामहरु निरन्तर गर्न अनुरोध गर्नुभयो । 

विद्यालयका संस्थापक नेत्र सुवेदीले आँखा जीवनको महत्वपुर्ण अङ्ग भएकोले शिविरका लागि आँखाको जाँच नै छनौट गरिएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल नाजु सुवेदीले रानी अस्पतालको टिम, उपस्थित सम्पुर्ण अतिथि, अभिभावक लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

................