धरान, फागुन १३ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध स्वरुप आन्दोलनमा रहेको मुक्कुमलुङ ताङ्सेःप चुम्भोले हाल नेपाल सरकारले खटाएको कर्मचारी नेतृत्वको वार्ता टोलीसँग कुनैपनि वार्ता नगर्ने स्पष्ट पारेको छ ।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै चुम्भोले सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको सरकारी वार्ता टोलीसँग ६ बुँदे सहमति भएपनि पालना नभएको भन्दै उक्त वार्ता टोली अमान्य भएको जनाएको छ । वार्ताको विश्वसनिय तथा जिम्मेवार वातावरण बनाउन यससहित विभिन्न ४ बुँदै माग समेत चुम्भोले राखेको छ ।

पहिलो बुँदामा मन्त्रीस्तरिय वार्ता टोली बनाई आन्दोलनरत पक्षलाई औपचारिक पत्राचार गरेर वार्ताको निमन्त्रणा गर्नुपर्ने उल्लेख छ । आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायतका स्थानबाट पक्राउ गरिएका मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई निसर्त रिहाइ गरिनुपर्ने दोस्रो बुँदामा माग गरेकाछन् । केबलकार निर्माण कार्य बन्द गरी निर्माणस्थलबाट निर्माण सामाग्री, ठेकेदार, कामदार, मजदुर फिर्ता हुनुपर्ने माग तेस्रो नम्बरमा राखेको छ भने मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र तथा जनपद प्रहरी फिर्ता हुनुपर्ने माग चौथो बुँदामा राखेको छ ।
वार्ताका लागि वार्ता नभई परिणाममुखी र जिम्मेवार ढङ्गले वार्तामा आउन सरकारलाई आव्हान गरेको चुम्भोले सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भए आफुहरु पनि सोही अनुसार वार्तामा बस्ने पनि जनाएको छ ।
..........




















