धरान, जेठ ७ । धरान व्याडमिन्टन ग्रुपले १ नं. प्रदेश स्तरिय बि डिभिजन व्याडमिन्टन प्रतियोगीता धरानमा आयोजना गर्ने भएको छ । बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उक्त प्रतियोगीता यही जेठ २३ र २४ गते धरान–१३ स्थित अमर सेवा समाजको कभर्डहलमा हुनेछ ।
प्रतियोगीतामा प्रदेशका १४ वटै जिल्लाका उत्कृष्ट व्याडमिन्टन खेलाडीहरुलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगीतामा खेलाइने मेन्स डबल (बि लेभल), मिक्स डबल (बि लेभल) (लेडिज ओपन), आन्तरिक धरान नगर स्तरिय (सि लेभल) खेलहरुमा प्रथमलाई क्रमशः ५१ हजार, ३० हजार र १५ हजार रुपैया नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक क्याटेगोरीमा द्धितिय र तृतियलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
कुल चार लाख ५ हजार लागत अनुमान गरिएको सो प्रतियोगीता विशुद्ध निजी प्रयासमा आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।
आन्तरिक खेल पर्यटनको विकास गर्ने, व्याडमिन्टनका खेलाडीहरुको पुनर्ताजगी तथा स्तरोन्नति, व्याडमिन्टन खेललाई व्यवसायिक बनाउने लगायतका उद्धेश्य सहित खेल आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
...........




















