धरान, पुस २२ गते । धरान उपमहानगरपालिका वडा नं. ४ स्थित हर्दियाटोलमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
हर्दिया टोल विकास संस्थाको व्यवस्थापन र रानी आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ७९ जना स्थानिय सर्वसाधारणको आँखा तथा कानको निःशुल्क जाँच गरिएको थियो । जाँच गरिएका मध्ये ११ जनामा मोतियाबिन्दु देखिएको शिविरमा खटिनुभएका रानी आँखा अस्पताल विराटनगरका डा. नरेन्द्र यादवले जानकारी दिनुभयो ।
जाँच गरिएका मध्ये केहीमा आँखा पोल्ने र आँसु आउने समस्या समेत देखिएको उपचारमा संलग्न अर्का डा.सन्तोष यादवले जानकारी दिनुभयो । मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई रानी आँखा अस्पतालले यसअघि देखि नै ५०% छुट दिने व्यवस्था गरेको छ । यसपटकको शिविरका विरामीलाई पनि अस्पतालले उक्त सुविधा दिने डा. नरेन्द्र यादवले बताउनुभयो ।
हर्दिया टोलविकास संस्थाका अध्यक्ष लेखबहादुर मगरले रानी आँखा अस्पताल विराटनगरले आफुहरुको घरआँगनमा उपस्थित भएर निःशुल्क उपचार सेवा दिनुभएकोमा संस्था र स्थानियवासीका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । अस्पतालले विगतदेखि नै मासिक रुपमा निःशुल्क आँखा तथा नाक जाँच शिविर सन्चालन गर्दै आएको छ । हालसम्म धरान उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा वडा कार्यालयको सहयोगमा शिविर सम्पन्न भईसकेकाछन् । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने अस्पताल स्रोतले जानकारी दिएको छ ।
..........




















