दिलीप ढकाल
विगतदेखि नै विभिन्न साहित्यिक आन्दोलन, प्रकाशन र विचार मन्थनहरूमार्फत मुखरित हुँदै आएको पहिचानको मुद्दा आज आएर नेपाली साहित्य र समसामयिक चिन्तनको महत्वपूर्ण विषय बन्न पुगेको छ ।
अहिले जातीय पहिचानको सन्दर्भ साहित्यको प्रमुख विषयमध्ये पर्छ । पहिचान विरोधी कोही पनि हुँदैन । हामी सबैले समाजमा आफ्नो पहिचान खोजिरहेकै हुन्छौं । हरेक मानिसले आफूले बाँचेको भूगोल र समयमा आफ्नो र आफ्नो समाज वा जातिको पहिचान खोजिरहेको हुन्छ ।
सबै मान्छे कुनै न कुनै जातविशेषमा अनुबन्ध भएको हुन्छ । व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन् । त्यसैले कुनै पनि समाज बुझ्न त्यस समाजमा रहेका जाति समूहको सांस्कृतिक आचार व्यवहार बुझ्न सक्नुपर्छ ।
भूगोलले एकै जातिलाई पनि भिन्न प्रकृतिको बनाएको हुन्छ । कञ्चनपुरका थारू र सुनसरीका थारूहरूको आचार व्यवहार एउटै नहुन सक्छ, मोरङका बाहुन र डोटीका बाहुनहरू त भाषैका कारण पनि एकअर्कालाई बुझ्न नसक्ने अवस्थामा छन् । राईहरूबिच भाषाको दर्जनौं विविधता र ती भाषाहरूभित्र निहित मिहिन सांस्कृतिक विविधता गनिनसक्नुका छन् ।
पहिचानको मुद्दा आजको स्वाभाविक मुद्दा पनि हो । जहानियाँ शासन व्यवस्था भएको ठाउँमा, राजतन्त्र अर्थात हस्तान्तरित नेतृत्व भएको ठाउँमा, तानाशाही र व्यक्तिप्रवृत्त शासन व्यवस्था भएका ठाउँमा शासनसत्ताको परिधिभन्दा बाहिरका मान्छे, जातजाति, क्षेत्र र समुदाय उत्पीडनमा पर्छन् अर्थात् अधिकारबाट कुण्ठित बन्न पुग्छन् । यस्तो अवस्थामा रहेका मान्छेले आवाज उठाउने अनुकूल वातावरण पाउँदा पहिचानका स्वरहरू स्वतःस्फूर्त उठाउने गर्छन् ।
नेपालमा युगौंदेखि किरात, मल्ल, लिच्छवि, शाह, राणा र अहिले शासन व्यवस्था अन्तर्गत जुनसुकै जातका भए पनि उच्च ओहदामा बस्नेहरूले शासनसत्ता चलाइरहेका छन् । यसैगरी समाजमा पनि जातीय, आर्थिक एवम् सत्तासँग नजिक रहेकाहरूले नै प्रभुत्व जमाइरहेका हुन्छन् ।
नेपाली साहित्यमा पहिचानको आवाजलाई धेरै अगाडिदेखि नै उठाउँदै आएको पाइन्छ । पहिचानको आवाज उठाउने काम समसामयिक साहित्यमा अझै बढी भइरहेको छ । साहित्यमा पहिचानको मुद्दा उठ्नु सांस्कृतिक अध्ययनको महत्वपूर्ण पक्ष हो तर आजको पहिचानमुखी साहित्यमा संस्कृति र सभ्यताको खोजी एवम् चिनारीभन्दा आक्रोश बढी देखिँदै आएको पाइन्छ । यो पक्ष साहित्य लेखनका साथै साहित्यको सांस्कृतिक अध्ययन गर्ने सन्दर्भको विकृति हो ।
साहित्य समय र समाज निरपेक्ष रहन सक्दैन । यस सन्दर्भमा नेपाली साहित्य पनि अछुतो रहन सक्दैन । आज नयाँ नेपालको चर्चा भइरहँदा नेपाली साहित्यमा नयाँ स्वरूप, जातीय सांस्कृतिक विषयवस्तु, राजनीतिक सन्दर्भबारे चिन्तन गर्न थालिएको छ ।
नेपाल मूलतः संघीय लोकतान्त्रिक गणतन्त्रमा रहिआएको सन्दर्भमा नेपाली साहित्यको स्वरूपमा पनि परिवर्तन एवम् नयाँपनका सङ्केत देखिनुपर्छ र यस्ता सङ्केत देखिँदै आएका पनि छन् ।
२०४६ पछि स्रष्टाहरूले पाएको अभिव्यक्ति स्वतन्त्रताको भरपूर सदुपयोगले नेपाली साहित्यलाई अरू बढी फराकिलो बनाइदियो । त्यसपछि २०५२ देखि सुरु भएको माओवादी जनयुद्धको एक दशक लामो समयले नेपाली साहित्यमा नयाँ परिवेश र विषयलाई अगाडि ल्याइदियो ।
विगतमा नेपाली साहित्यको आयाम अहिलेजस्तो फराकिलो थिएन । विगतमा नेपाली साहित्य केन्द्रीकृत एवम् एकल चिन्तनको चौघेरामा बन्दी थियो । एक जाति, भाषा, धर्म र राष्ट्रको विषयवस्तुमा नेपाली साहित्य पनि केन्द्रित थियो ।
जातीय सौन्दर्यदृष्टिको प्रस्तुतिबाट अहिलेको नेपाली साहित्य गहिरोसँग प्रभावित भएको स्पष्ट देखिन्छ । श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कवितासङ्ग्रहमा सङ्कलित थुप्रै कविता जातीय पहिचान कविता रहेकाछन् । यस सङ्ग्रहभित्रको ‘बिसे नगर्चीको बयान’ कविताले दुई शताब्दीभन्दा बढी समयदेखि पहिचानको खोजीमा रहेका बिसे नगर्ची नामक सीमान्तकृत जनताको विद्रोहलाई प्रस्तुत गरेको छ ।
राजन मुकारुङको ‘दमिनी भीर’, सरस्वती प्रतीक्षाको ‘नत्थी’, दिलीप ढकालको ‘छलाङ’ उपन्यास जातीय संस्कृतिलाई नै प्रस्तुत गर्ने कृतिका उदाहरण हुन् । ‘दमिनी भीर’ले नेपाली समाजमा रहेको जातीय विभेद तथा पहिचानलाई नै कथ्य विषय बनाएको छ । ‘नत्थी’ले पश्चिम तराईका दलित वादी समुदायको संस्कृति, जीवनशैली, व्यवसायलाई मुख्य विषयवस्तु बनाएको छ । ‘छलाङ’ले जातीय तथा वर्गीय विभेदकै कारण नेपाली समाजमा परिवर्तन नआएको सन्दर्भलाई गर्भविषय बनाउँदै परिवर्तनका लागि त्याग र राष्ट्रिय चिन्तनमै छलाङ हुनुपर्नेमा जोड दिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘लूनी’ र ‘म्हेन्दु’ खण्डकाव्यले तामाङ र सेर्पा समुदायको जातीय संस्कृतिलाई प्रस्तुत गरेका छन् । महेश विक्रम शाह र नयनराज पाण्डेले पश्चिम तराईका थारु र अन्य समुदायको सांस्कृतिक सरोकारमा कथा लेखेका छन् ।
काजीमान कन्दङ्वा र शिवकुमार श्रेष्ठले मूलतः किराती लोककथालाई आफ्नो साहित्यको आख्यान सन्दर्भ बनाएको पाइन्छ भने उपेन्द्र सुब्बाले मिहिन रूपमा ‘लाटो पहाड’ जस्ता कथाबाट किराती संस्कृतिका रूपहरूलाई प्रस्तुत गरेको पाइन्छ ।
यसप्रकार नेपाली साहित्यमा नेपालका विविध जातजातिहरूको सांस्कृतिक प्रस्तुति भएको पाइन्छ । यी सबै जातीय संस्कृतिको प्रस्तुतिमा जातीय पहिचानको मुद्दा जोडिएरै आएको पाइन्छ । व्यक्ति, जाति र समाज विशेष प्रकारका सांस्कृतिक व्यवहार एवम् संस्कारले बाँधिएका हुन्छन् र सबैले आफ्नो परिचय स्थापित भएको हेर्न चाहन्छन् ।
जातीय पहिचानको खोजी गर्नु राजनीतिक मुद्दा नभएर सांस्कृतिक मुद्दा हो । यस्तो जातीय संस्कृतिको प्रस्तुति भएका साहित्यिक कृतिहरूको प्रकाशन, जातीय सांस्कृतिक अनुसन्धान एवम् लेखनमार्फत सांस्कृतिक बहस आजका कृतिहरूमा हुनु आवश्यक छ ।
.............




















